काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि आज निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिनुभएको छ ।

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान हुनेछ । अध्यक्ष मण्डलका सदस्य भट्टराईले भन्नुभयो — ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ ।’

बडाल नेतृत्वको पूर्वकमिटी भङ्ग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ ।

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । जारी महाधिवेसनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मङ्गलबारदेखि सुरु भएको महाधिवेशन आजसम्म चल्नेछ ।