कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान
फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सरकारले स्रोत खुलाउन नसकेको सम्पत्तिमा कर निर्धारण गरेर वैध बनाउन दिने प्रस्ताव गरेको छ । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रर्वधन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’लाई प्रस्तुत गर्दै सम्पत्तिमा कर निर्धारण गरेर वैध बनाउन दिने प्रस्ताव गरेको हो ।
प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले विधेयक पेश गर्दै स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने व्यवस्था गरिएको सदनलाई जानकारी गराउनुभयो ।
मन्त्री प्रधानले स्रोत खुलाउन नसकेको सम्पत्तिको. हकमा कर निर्धारण गर्ने प्रस्ताव गरिएको भन्दै यद्यपि, अपराधबाट आर्जित सम्पत्ति वैध बनाउने व्यवस्था भने नगरिएको प्रष्ट पार्नुभयो । सदनमा बोल्दै कानूनमन्त्री प्रधानले ‘सम्पत्ति शुद्धीकरण वा अन्य सम्बद्ध कसुरमा संलग्न नभएको, कर छली सम्बन्धी कसुर पनि नभएको अवस्थामा मात्र स्रोत खुलाउन नसकेको सम्पत्तिको हकमा कर निर्धारण गर्ने व्यवस्था गरिएको हो’ भन्दै सदनलाई जानकारी गराउनु भएको थियो ।
मन्त्री प्रधानले अपराधबाट आर्जित कुनै पनि सम्पत्ति बैध बनाउने व्यवस्था नगरिएको उल्लेख गर्नुभयो । सम्पत्ति शुद्धीकरणका सम्बन्धमा कसूर गरेको पाइएमा त्यस्तो अवस्थामा थप अनुसन्धान गरी पुनः मुद्दा चलाउन सकिने व्यवस्था संसदमा पेशगरिएको प्रस्तावमा उल्लेख गरिएको कानून मन्त्री प्रधानको जानकारी गराउनु भएको थियो ।