काठमाडौं – संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुने भएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संवैधानिक नियुक्तिको अन्तिम सुनवाई तीनवटा सरकार फेरिएपछि सर्वोच्च अदालतले आज अन्तिम सुनुवाइ गर्न लागेको हो ।
पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले गत साउन ११ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेशअनुसार अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरूमा ५२ जना पदाधिकारीलाई नियुक्त गर्नुभएको थियो । उक्त समयमा प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइबिनै ५२ जनालाई राष्ट्रपतिले नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले अध्यादेश ल्याएर संवैधानिक निकायमा गरिएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषदको बैठक डाकेको, गणपुरक संख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको निर्णय गरेकाले प्रक्रिया मिचिएको साथै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर उनीहरुको जवर्जस्ती नियुक्ति गरिएको भन्दै रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग छ ।