काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । विधान अनुसार प्रत्येक ३ वर्षमा हुने अखिल महाधिवेशन यसपटक भने पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो ।
लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ । त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफनो कमिटी भङ्ग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसक्नुभएको छ । जसमा खिमलाल भट्टराई, बिनोद ढकाल, रचना खडका, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर र सुनिता बराल सदस्य रहनुभएको छ ।
अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालको दाबी छ । भोलिसम्म हुने महाधिवेशनमा सहभागी हुन देशभरिबाट १ हजार ८० प्रतिनिधि काठमाडौँ आएका छन् ।
‘निः शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल सङ्गठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिशनको हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशका मुख्य उदेश्य भनेको नेतृत्व छनोट गर्ने हो । महाधिवेशनले १९९ सदस्सीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् । बरालका अनुसार सहमतिबाट आज नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।