सप्तरी — सप्तरीमा ऋण तिर्न नसकेर एकजना महिलाले आत्महत्या गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिनुभयो ।
शान्ताले विभिन्न लघुवित्त र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि दिनैपिच्छे तनाव दिएका कारण मृत्यु रोजेकी स्थानीय बताउँछन् । भुजेल परिवारको सम्पतिको नाममा रहेको १० धुर घरघडेरी पनि एक वर्षअघि एकजना साहुको नाममा पास गरी ऋण लिएका थिए ।
घटनास्थलबाट फर्किएकी कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले ऋणकै कारण तनावमा आएर शान्ताले आत्महत्या गरेको स्थानीयले बताएको जानकारी दिनुभयो ।
केही दिन अगाडि उनका श्रीमान् भीमबहादुर उपप्रमुख पोखरेलकै घरमा एक रात बास बसेका थिए । भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको कुरा सुनाएको उपप्रमुख पोखरेलले बताउनुभयो ।