फाइल तस्वीर


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानुहुने भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री भारत जानुहुने भएको हो ।

परराष्ट्रसचिव भरतराज पौडेलको निमन्त्रणमा नेपालको दुई दिने भ्रमणमा सोमबार काठमाडौं आउनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव क्वात्राले सोमबार भेटवार्ता गर्नुभएको थियो ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने गरी तयारी भैरहेको थियो । तर, राष्ट्रपतिको निर्वाचन आगामी २५ गते बिहीबारका लागि तय भएकाले प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पश्चात्मात्रै भारतको औपचारिक भ्रमणमा जानुहुने बताइएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुनेछ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय हुनेछ ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिनुभएको थियो । त्यसको दुई तीन दिनपछि प्रधानमन्त्री प्रचण्डले स्वयं आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने बताउनु भएको थियो ।

निर्वाचन आयोगले आगामी २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिंदै आउनुभएको छ भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पाउनु पर्ने जिकिर गर्दै आएको छ । कतिपयले राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्का समेत गर्न थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको विद्यार्थी सङ्गठनको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै वर्तमान गठबन्धनप्रति आफु ढुक्क हुन नसकेको भन्दै टुट्न सक्ने सङ्केत गर्नुभएको छ ।