ललितपुर — ललितपुरको लुभूमा अक्सिजन ग्यासको सिलिन्डर पड्किँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार दिउँसो सवा १२ बजे महालक्ष्मी नगरपालिका–८ लुभूको चसिडोलमा एक घरमा अक्सिजन सिलिन्डर पड्किएको हो । प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिबिक्रम शाहका अनुसार पदमबहादुर सुनारको साढे २ तलाको घरमा सिलिन्डर पड्किएको थियो । घरको पहिलो तलामा उनले मूर्ति बनाउने कारखाना सञ्चालन गरेका थिए । मूर्तिमा जलप लगाउने क्रममा ग्यास चुहावट भएर अचानक पड्किँदा पाँच जना घाइते भएका हुन् । सिलिन्डर पड्किएको खबर पाएपछि प्रहरी प्रभाग लुभूबाट प्रहरी वरिष्ठ निरीक्षक सुरेन्द्रबहादुर टेर नेतृत्वको टोली खटिएको थियो। उक्त टोलीले तत्कालै घाइतेको उद्धार गरी प्रहरीकै गाडीमै राखेर अस्पताल पु¥याएको थियो ।

घाइतेको ग्वार्कोस्थित किस्ट मेडिकल अस्पतालमा उपचार भइरहेको छ । घाइते पाँचै जनाको मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घाइते हुनेहरुमा नुवाकोटका २६ वर्षीय राजु सुनार, गोदावरीका २३ वर्षीया ज्योति महत, चितवनका ३६ वर्षीय अमित रसाइली, पर्साका १५ वर्षीय विवेक विक र भक्तपुरका २६ वर्षीय सुदिप नगरकोटी रहेका छन् । उनीहरूको शरीरमा ’टू डिग्री बर्न’ भएको छ ।

सुनारको ५५ प्रतिशत, महतको २२ प्रतिशत, रसाइलीको ४५ प्रतिशत, विक ५० प्रतिशत र नगरकोटी १५ प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ । उनीहरुको उपचारमा क्रिटिकल केयर, एनेस्थेसिया, सर्जरी, प्लास्टिक सर्जरीका चिकित्सकको संयुक्त टोली खटिएको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते सबैका आफन्त सम्पर्कमा आइसकेको बताइएको छ ।