काठमाडौं — काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा यातायात मजदुरहरुले हिजो सोमबार गरेको आन्दोलन र प्रदर्शनको क्रममा तीन ठाउँका मोबाइल पसलमा लुटपाट भएको छ । नेपाल मोबाइल व्यवसायी सङ्घका अनुसार आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको बताइएको छ ।

सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेका थिए । ल्होत्से मलमा मोबाइल पसल सञ्चालन गरेका र नेपाल मोबाइल व्यवसायी सङ्घका उपाध्यक्षसमेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताएका छन् । चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ । सो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकत्रित भएका छन् । उनीहरुले आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउने भएका छन् ।