फाइल तस्वीर


काठमाडौं — यातायात मजदुर सङ्गठनहरूले आजदेखि सुरु गरेको आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएका छन् । सरकार र यातायात मजदुर प्रतिनिधिहरुबीच केहीबेर अघि भएको वार्तामा आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने सहमति भएको हो ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिएका छन् । यातायात मजदुरहरु १० बुँदे माग पेश गर्दै आजदेखि आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण आज सडकमा सार्वजनिक यातायात अवरुद्ध भएको थियो ।


उनीहरुले राखेका मागहरुलाई सम्बोधन गर्नेसम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मजदुर सङ्गठनका प्रतिनिधिहरुबीच आज केहीबेर अघि दुई पक्षीय वार्ता भएसँग यातायात सञ्चालनमा आउनु भएको छ ।

यातायात मजदुर सङ्गठनहरूले आफ्ना माग पूरा नहुँदासम्म सार्वजनिक यातायातका गाडीहरु नचलाउने बताएका थिए । भमजदुरहरुले विशेषगरी ट्राफिक कारवाहीको जरिवाना बढाइएको, प्रदूषण जाँचका नाममा जरिवाना असुल्न थालिएको, चालकको ट्राफिक लाइसेन्स निलम्बन समेत गरिएको भन्दै आन्दोलन गरेका हुन् ।

ट्राफिक नियमविरुद्ध आन्दोलित भएका यातायात मजदूरहरुले हिजो काठमाडौंको बालाजुमा प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नुको साथै अस्थायी प्रहरी बिट पनि जलाएका थिए ।