काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।

जुन आज फागुन २ गतेदेखि ४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो । महाधिवेशनले नयाँ अध्यक्षसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नेछ ।

अनेरास्ववियुका नेताहरूका अनुसार अध्यक्षका लागि तीन जनाले दाबी गरेका छन् । ४ फागुनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वका साथै तीनवटा केन्द्रीय आयोग पनि गठन गर्नेछ । ती हरेक आयोगमा १५ जना सदस्य रहने छन् । अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र मोती विश्वकर्माले अध्यक्षका लागि दाबी गरिरहेका छन् ।

‘यो महाधिवेसनको मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रीय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालका अनुसार, ‘तीनवटा केन्द्रीय आयोग पनि निर्माण हुनेछन, जुन आयोगमा १५ जना सदस्य हुनेछन् ।’ उनका अनुसार सहमतीयबाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।

आज मङ्गलबार मध्यान्ह १२ः३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेसनमा सहभागी हुन देशभरीबाट १ हजार ८० प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ ।