काठमाडौं – ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुर र प्रहरीबीचको झडपले बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । दुई पक्षबीच भएको झडपका क्रममा बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरीको भ्यानमा आगजनी गरेका हुन् ।


अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् । प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।

दुई पक्षबीच भएको झडपमा प्रहरी र केही मजदूर घाइते भएका छन् । यातायात व्यवसायी र मजदूरहरुले प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन् भने उनीहरुले सडकमै गाडी तेर्स्याएर सडक अवरुद्ध पारेका छन्।
आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरेका हुन् । उनीहरुले बालाजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् ।