काठमाडौं– दुईदिने नेपाल भ्रमणमा नेपाल आउनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेर भारतीय विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

यसअघि उहाँले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । सो क्रममा नेपालको विकास र कनेक्टिविटीको विषयमा छलफल भएको मन्त्री राईले जानकारी दिनुभयो ।
विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम रहेको छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।