काठमाडौं — नेपालका लागि संयुक्त राज्य बेलायती राजदूत निकोला पोलिट र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्ता दुई देशबीचको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका बिषयमा केन्द्रित थियो।


बेलायती राजदूत निकोलासँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गर्नुभयो । बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले भन्नुभयो, ‘दुई देशबीच २०० वर्ष पुरानो सम्बन्ध अविस्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ।’

सभामुख घिमिरेले बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै दुई देशबीच आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिनुभयो । उहाँले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

राजदूत पोलिटले गत निर्वाचनमार्फत् नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उहाँहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गरेको बताउनुभयो ।