नेपालका परराष्ट्र सचिव र भारतीय समकक्षी विनयमोहन क्वात्रा, तस्वीर ।
काठमाडौं — नेपालको दुई दिने भ्रमणमा आज काठमाडौं आइपुग्नु भएका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका परराष्ट्रसचिव भरतराज पौडेलबीच भेटवार्ता भएको छ । दुई देशका समकक्षीबीच काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भेटवार्ता भएको हो ।
दुई देशका सचिवबीच सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षीय चासोको बिषयमा कुराकानी हुने बताइएको छ । दुई देशका समकक्षीबीचको भेटवार्तापछि पराराष्ट्र मन्त्रालयले विदेश सचिवको सम्मानमा दिवा भोजको आयोजना गर्नेछ ।
दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेशसचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द मोदीले भारत भ्रमणका निम्ति पठाउनु भएको निमन्त्रणा पत्रसमेत हस्तान्तरण गर्नुहुनेछ । विदेश सचिव क्वात्राले आजै परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
भारतीय विदेशसचिव नेपाल उत्रेसँगै उच्चस्तरीय वार्ताका लागि दौडाहा सुरुभएको छ । उहाँले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटगर्नुहुने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीलाई भेट्न विदेशसविच क्वात्रा ओली निवास बालकोट जानुहुने भएको छ ।
यसैगरी भोलि मङ्गलबार विदेश सचिव क्वात्राले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु हुनेछ भने भोलि नै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटगरी अपरान्ह स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।