काठमाडौं— भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आउनु भएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेशसचिव विनयमोहन नेपाल भ्रमणमा आउनुभएको हो ।
विदेशसचिव विनयमोहनले आजै उच्चस्तरीय भेटवार्ता गर्नुहुने बताइएको छ । नेपाल भ्रमणमा आउनभएका विदेशसचिव विनयमोहन र परराष्ट्र सचिव पौड्यालबीच द्वि—पक्षीय भेटवार्ता हुनेछ । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा दुईदेशका समकक्षीबीच छलफल हुनेछ । छलफलको मुख्य एजेण्डा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यलगायतका विषयरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशसचिव विनयमोहनसँग परराष्ट्र सचिव पौड्यालले दुई देशीयसीमा समस्याको बारेमा कुरा गर्नुहुने बताइएको छ । भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको विषयलाई सचिव पौड्यालले सीमा समस्यालाई समाधान गर्नेबारेमा छलफल भएको छ । यद्यपि, यस विषयमा नेपालले पटकपटक वार्ताका लागि आग्रह गरेता पनि भारत सरकारले अहिलेसम्म बेवास्ता गर्दै आएको छ । तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर राजनीतिक नक्सा बनाएपछि ऐतिहासिक दस्तावेजको आधारमा नेपालले पनि लिम्पियाधुरा समेटेर आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसयता सीमा विवादबारे वार्ता गर्न नेपालले राखिरहेको प्रस्ताव भारतले इन्कार गर्दै आएको छ ।
विदेशसचिव विनायमोहन र परराष्ट्र सचिवबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमण गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । भारतीय विदेशसचिवले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डलाई भेटर भारत भ्रमणको निम्ता दिनेकुरा पनि छ ।
आजै नेपाल आउनु भएका भारतीय विदेशसचिव विनायमोहनले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट «मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालसँगको भेटपछि आजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटगर्ने कार्यक्रम रहेको छ ।
विदेशसचिव विनायमोहनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायत राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयले विदेशमन्त्री विनयमोहनको भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ विस्तार र सुदृढ गर्ने अवसर भनेको छ । ‘यो भ्रमण दुई मित्रवत् छिमेकीबीच हुने नियमित भ्रमणकै निरन्तरता हो’मन्त्रालयले भनेको छ । विनयमोहनले विदेश सचिवको कार्यभार सम्हालेपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो ।
‘दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको बताइएको छ । भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ,’ भारतीय विदेस मन्त्रालयले विज्ञप्तिमा भनेको थियो । भ्रमण सकेर भारतीय विदेशसचिव भोलि मङ्गलबार स्वदेश फर्किनुहुनेछ ।
फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैगर्दा नेपालमा माथिल्लो तहका विदेशी पाहुनाहरुको यात्रा बाक्लिन थालेको छ । अघिल्लो सातामात्रै अमेरिकाबाट दुई वरिष्ठ अधिकारीहरुले नेपाल भ्रमण गर्नुभएको थियो । पछिल्लो समय अमेरिकालगायत पश्चिमा देशहरुले समेत नेपालमा सक्रियता बढाएका छन् । त्यसैगरी दक्षिण एसियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि आज सोमबार नै नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
नेपालमा अमेरिकी र युरोपेली प्रभाव बढ्दै गएको भन्दै दुई छिमेकी देश चीन र भारत सशङ्कित भैरहेका छन् । यी दुवै मुलुकहरुले पनि नेपाल भ्रमणलाई प्राथमिकता दिंदै विभिन्न तहको भ्रमण गर्दै आएका छन् । नेपालमा अमेरिकी र युरोपेली प्रभाव बढ्दै जाँदा भविष्यमा यस क्षेत्रको शान्ति खलबलिने हो कि भन्नेमा दुवै छिमेकी देश गम्भीर देखिन थालेका छन् ।