प्रतिकात्मक तस्वीर
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जाकृति चोकको एउटा कुखुरा फाममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ध्रुव दाहालको जग्गा भाडामा लिई काठमाडौं कोटेश्वरस्थित घर भएकी वर्ष ४३ की विना गुरुङको कुखुरा फर्ममा आगलागी भएको हो ।
फाममा कुखुराको चल्लालाई तापक्रम दिनको लागि राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिएर आगो निभाउन सफल भएको परिसरका एसपी प्रजित केसीले बताउनुभयो ।
नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको र आगलागीबाट मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीबाट १ हजार ८ सय वटा ब्रोइलर कुखुराको चल्ला र कुखुराको फर्म गरी जम्मा ९ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।