फाइल तस्वीर


काठमाडौं — कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणको लागि नयाँ खोप (बाइभ्यालेन्ट) नेपाल भित्रिएको छ । ओमिक्रोन नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप आज सोमबार काठमाडौं आइपुगेको हो ।

पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप ल्याइएको छ । उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभाग प्राङ्गणमा भण्डारण गरिने र केही दिनपछि सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपाल सरकारले कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत बाइभ्यालेन्ट खोप माग गरिएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताउनुभयो ।

विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ । छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ.७ फैलिरहेको हुँदा सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई यो खोप लगाउन आग्रह गरेको छ ।