काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गर्नुभएको छ । आज जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले यो क्याबिनेटबाट निर्णय गराएको छु । यो अब माओवादीको मात्र नभई राष्ट्रकै सम्पति बन्न पुग्यो ।’ माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्ध दिवसलाई वैधानिक तवरबाट स्थापित गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा सम्पूर्ण श्रमजीवि जनसमुदायमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले वैधानिक तवरबाट यसलाई स्थापित गरिनुपथ्र्यो । यो निर्णय आफैंमा सबै बेपत्ता योद्धाप्रति, जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबैप्रतिको सम्मान हो । यो सङ्कल्प पनि हो। सामाजिक आर्थिक रुपान्तरणमा पुर्याउने सङ्कल्प पनि हो ।’

साथै, उहाँले पुनः माओवादी आन्दोलनलाई एकीकृत गर्नेगरी आफू लागेको बताउँदै भन्नुभयो, ‘यो हामी सबैको लागि खुसीको कुरा पनि हो । आन्दोलनलाई एकीकृत गर्नेगरि अघि बढिएको छ ।’ देशलाई सुशासनको बाटोमा लाने जिम्मेवारी मिलेको भन्दै प्रधानमन्त्री प्रचण्डले असफल हुने छुट आफूलाई नहुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–‘अहिले हामी सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा छौं । अर्थतन्त्र र राजनीतिको स्थिति के छ भन्ने कुरामा सरकारले नेतृत्व गर्ने अवसरको रुपमा लिएका छौं । हामीलाई असफल हुने विल्कुल छुट छैन ।’ उहाँले सामाजिक न्याय, सुशासन र आर्थिक क्षेत्रमा फड्को मार्नैपर्ने चुनौती आफूलाई रहेको बताउनुभयो ।