काठमाडौं– निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वि.सं. २०८० अर्थात् आगामी वैशाख १० मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद्बाट पदबाट मुक्त भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

आयोगले आज आइतबार जारी गरेको विज्ञप्तिअनुसार चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ ।

यसबारे आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका श्री रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७९।१०।१३ मा आदेश भै आएको र संघीय संसदको च.नं. ३२ मिति २०७९।१०।१९ को पत्रबाट श्री रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएको थियो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।