काठमाडौं – अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । करिब ७ वर्षपछि हुन लागेको महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको हो ।

महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने हुनुभएको छ । निःशुल्क शिक्षा, स्वास्थ र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा, गतिशिल सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने मुल नाराको महाधिवेशन गर्न लागिएको हो ।

महाधिवेशनबाट दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र ३ आयोग (अनुशासन ,लेखा र निर्वाचन) निर्वाचित गर्नेछ । महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनिता बरालले सकेसम्म सहमतिको आधारमा चयन गरिने बताउनुभयो । नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने उहाँले बताउनुभयो । निर्वाचन प्रकृयालाई व्यवस्थित, छिटो छरितो बनाउन विधुतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको उहाँको भनाई छ ।

आफुहरूले घोषणा गरेको विषय नै स्ववियु निर्वाचनका लागि महाधिवेशन भन्ने रहेको उहाँको भनाइ छ ।