फाइल तस्वीर
काठमाडौं — सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्ने तय भएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक गत शुक्रबार पनि बसेको थियो । राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ ।

सत्ता साझेदार दलहरू राष्ट्रपतिको उम्मेदवारलाई लिएर एकमत हुन सकेका छैनन् । नेकपा एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेको छ भने राष्ट्रपतिलाई लिएर सत्तारूढ दलहरूबीच किचलो बढ्दै गएको छ । सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत हुन सकेका छैनन् ।