प्रतिकात्मक तस्वीर

विराटनगर — विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा परी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत झापा मेचीनगरपालिका १३ चारआलिका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको हो ।

सुनसरीको इटहरी ९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रा.लि.मा कार्यरत गिरी चढेको मे १० प ९१६१ नम्बरको स्कुटरलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले गिरीलाई ठक्कर दिएको थियो । भारतीय नम्बर प्लेटको गाडीले ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।

ठक्कर दिने चालक भने फरार रहेका छन् । फरार चालकको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको बताइएको छ । मृतकको शव पोस्टमार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखेको प्रहरीले जनाएको छ ।