फाइल तस्वीर
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा शुक्रबार चिकित्सकमाथि प्रहरीले लाठी चार्ज गरेको विरोधमा सङ्घले आज देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आह्वान गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति एक विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक सङ्घसँग आग्रह गर्नुभएको छ । सहप्रवक्ता डा. अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गर्नुभएको हो ।
डा. अधिकारीले चिकित्सकलाई घाइते बनाउने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्न प्रयास भइरहेको जानकारी पनि दिनुभएको छ ।