फाइल तस्वीर
काठमाडौं — नेपाल चिकित्सक सङ्घले भोलि आइतबार देशभरका स्वास्थ्य संस्थाहरुको स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेका छ । हिजो शुक्रबार चिकित्सकमाथि भएको कुटपिटको विरोधमा भोलि देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका सकै किसिमका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
सङ्घको यो निर्णयले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह बन्दआकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द हुनेभएका छन् ।
सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घको गम्भीर ध्यानकर्षण भएको बताउनु भएको छ ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त्य गरी उचित विधि स्थापित गर्न समेत सङ्घको कार्यकारिणी समितिको आकस्मिक बैठकले निर्णय गरेको छ ।