धनगढी — सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह आज शुक्रबार पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने हुनुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गानाले बताए अनुसार मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम दिउँसो गर्ने कुराकानी भए पनि एकिन समय भने निर्धारण हुन बाँकी रहेको र दिउँसो ३ वा ४ बजेतिर कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ । नवनियुक्त मुख्यमन्त्रीसँगको परामर्शपछि समय निर्धारण गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको थियो । उहाँले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री शाहले आजै शपथ लिने आजै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको बताइएको छ । स्रोतकाअनुसार काङ्ग्रेसका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मन्त्री बन्ने सम्भावना बलियो रहेको छ । तर को–को मन्त्री बन्दैछन् भन्ने कुराको भने टुङ्गो लाग्न बाँकी छ ।