फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेकपा एमाले सचिवालय बैठकले अहिलेकोे सत्ता गठबन्धनलाई टिकाएर अघि बढाउन अधिकतम पहल गरेको बताएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमाले–माओवादीको गठबन्धनमा चुनौती देखिए पनि यसलाई टिकाएर अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।
फागुन २५ गते हुने राष्ट्रपति चुनावमा उम्मेदवार उठाउने विषयमा दुई दलबीच मतभेद बढ्दै गएको अवस्थामा एमालेले औपचारिक रुपमै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकपछि निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ। चुनौतीहरु भए पनि गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा छौँ ।’
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीबाट सरकार गठन हुँदा भएको सहमति तोडिएको बताउँदै पुस १० गते भएको निर्णयअनुसार रास्वपालाई गृह मन्त्रालय दिने भनेकोमा त्यो निर्णयमा टिक्नुपर्ने भए पनि समस्या उत्पन्न भएको उहाँको भनाइ थियो । एमालेले रावस्वपालाई सरकारमा फिर्ता ल्याउनुपर्ने अडान राखेको छ ।
‘सरकार गठन हुँदा जुन ढङ्गले शक्ति बाँडफाँड भएको थियो त्यो अनुसार गृह रास्वापालाई नै दिनुपर्थ्यो । उसलाई सरकारमा राख्नुपर्थ्यो,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘अझै पनि रास्वपालाई सरकारमा ल्याउन प्रयास भइरहेको छ । जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने प्रयास जारी छ । गठबन्धनमा कतिपय समस्या देखिएको छ । त्यसलाई समाधान गरेर अघि बढ्छौँ ।’