धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त हुनुभएको छ । उहाँले आफूलाई प्रदेश सभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेश सभाले बहुमतले अस्वीकृत गरेको हो ।

प्रदेश सभाको आज बसेको बैठकमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टी उपस्थित नभएपछि मुख्यमन्त्री रावलले बहुमत गुमाउनु भएको हो । मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो तर, निर्णायक मानिएको नागरिक उन्मुक्तिका सात जना सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्नुभएन ।

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था थियो । मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि सुदुरपश्चिममा सत्ता गठबन्धनको सरकार ढलेको छ । अब सबैभन्दा ठूलो दल काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने देखिएको छ ।