मुख्यमन्त्री राजेन्द्रसिंह रावल, फाइल तस्वीर


धनगढी — सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनका लागि ११ बजे बोलाइएको बैठक सहमति जुटाउने प्रयासमा ४ बजेका लागि डाकिएकोमा भर्खरै मात्र सुरु भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका रावलले विश्वासको मत पाउन नसक्ने भएपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आजै मुख्यमन्त्री पदबाट राजीनामा दिनुहुनेभएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई आफ्नो माग पूरा नगर्दासम्म नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राख्दै आएपछि मुख्यमन्त्री अल्पमतमा पर्नुभएको छ ।

गत पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले तीन पटक प्रयास गर्दापनि विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।

उक्त प्रदेशमा मुख्यमन्त्री र सरकारलाई विश्वासको मत प्राप्त गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । मुख्यमन्त्री रावल अल्पमतमा परेकै कारण उहाँले आजै पदबाट राजीनामा दिनुहुने बताइएको छ ।