फाइल तस्वीर
काठमाडौं — परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा साउदी अरबिया सरकारलाई नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको हो ।

मन्त्री पौड्यालले साउदी अरबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा श्रम सम्झौता गरेर दक्षजनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो ।

सो अवसरमा राजदूत हैमेदले साउदी अरबियाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गर्नुहुँदै आफ्नो देशमा विकास निर्माणका काम तीव्रगतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाउनुभयो ।