काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । पुरानै कार्यविभाजनलाई निरन्तरता दिएको माओवादी केन्द्रले संगठन विभाग प्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’ र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनलाई कायम राखेको छ । शर्मा र पुन दुवै उपमहासचिव हुनुहुन्छ ।

पार्टी वरियतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल रहनुभएको छ । महासचिवमा देवप्रसाद गुरुङ र उपमहासचिवहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृकाप्रसाद यादव रहनुभएको छ ।

पार्टीको वि.सं २०७८ पुस दोस्रो साता काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन । लामो समयसम्म कार्यविभाजन नभएको भनी प्रश्न उठ्न थालेपछि माओवादी केन्द्रले यही माग १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

४ कातिक २०७८ देखि अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र सङ्गठन विभाग प्रमुखको जिम्मेवा।री जनार्दन शर्माले सम्हाल्दै आउनुभएको छ । महाधिवेशनले निर्णय नगरेका कारण दुवै नेताले सोही अनुसारको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । जसलाई स्थायी समितिले वैधानिकता दिएको हो ।