फाइल तस्वीर
काठमाडौं — उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित बनेको छ । आज बिहीबार बस्ने भनिएको उक्त संयन्त्रको बैठक बस्ने/नबस्ने बारे अनिश्चित तर्फ धकेलिएको हो ।
हिजो बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष एवम् उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्तामा आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने सहमति भएको थियो ।
मुख्यतः राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्षबीच सहमति जुट्न नसक्दा दुई पार्टीबीच दरार पैदा भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहनुभएको छ भने एमाले अध्यक्ष ओलीभने पूर्वसहमति अनुसार राष्ट्रपति एमालेले नै पाउनु पर्ने अडानमै रहनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सरकार बनिसकेपछि डेढमहिनाको अवधिमा १७ पटकसम्म भेटघाट र छलफल भैसकेको छ । तर उहाँहरुबीच अहिलेसम्म सहमति जुट्न नसकेको दुवै नेताहरुको अभिव्यक्तिबाट बुझिन्छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने एमाले अध्यक्ष ओली एमाले उम्मेदवारबाहेक अन्यको हकमा राष्ट्रिय सहमति सम्भव नहुने बताउँदै आउनुभएको छ । यही विवाद बढ्दै गएपछि ओली प्रचण्ड वान टु वान पटक पटक बालकोट र बालुवाटारमा भेटवार्ता भए पनि त्यसबारे ठोस निष्कर्ष आउन सकेको छैन ।
पुस १० गते शीर्ष नेताबीचको कुराकानीमा प्रधानमन्त्री माओवादी र राष्ट्रपति एमालेले लिने सहमति भएको एमाले नेताहरूको दाबी रहँदै आएको छ । त्यस्तै सभामुख र प्रधानमन्त्रीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको नेताहरूले बताए पनि माओवादी शक्ति सन्तुलनका हिसाबले पनि राष्ट्रपतिमा एमाले बाहेकको उम्मेदवारको पक्षमा छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार आज बिहान बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने/नबस्ने बारे कुनै टुङ्गो लागेको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई रचनात्मक रुपमा सहयोग गर्नेभन्दा पनि आफ्नो अनुकूल बनाउन प्रधानमन्त्री प्रचण्डलाई कुनै नक कुनै रुपले दवाव दिंदै आउनु भएको राजनीतिक वृत्तमा एकखालको बुझाई छ । ठूलो दलको हैसियतले पनि एमाले अध्यक्ष ओलीले जनअपेक्षा अनुरुप सरकारलाई काम गर्न मद्दत गर्नुपर्नेमा विभिन्न स्वार्थमा केन्द्रीत हुँदा देशको राजनीति अधोगति उन्मुख हुने काम मात्रै भैरहेको आम नागरिकको बुझाइ छ ।
सरकारको कामलाई चुस्त बनाउन, विकास निर्माण लगायत जनताका समस्याहरुलाई सम्बोधन गर्नु पर्ने अवस्थामा पदीय भागबण्डा, सत्ता र स्वार्थलिप्त राजनीतिले शीर्ष नेतृत्वको चरित्रमा गैह्रजिम्मेवारीपन हावी भएको देखिएको छ । सरकारलाई सहयोग र सहजीकरण गर्न गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएता पनि लामो समयदेखि त्यसको बैठक समेत बस्न सकेको छैन ।
सत्ताको मूख्य दुई ठूला दल माओवादी केन्द्र–एमाले मिलेर सरकार बनाउँदा जनतामा जुन खालको सकारात्मक संदेश सम्प्रेषण भएको थियो, नेताहरु व्यक्ति र स्वार्थगत विषयमा केन्द्रीत हुँदा यसले शासन व्यवस्थाप्रति नै वितृष्णा पैदा गर्ने काम गरेको छ ।