काठमाडौं — आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले आज एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लागतकट्टा गर्न पनि विभागले आग्रह गरेको छ ।

ट्राफिक प्रहरीको कारबाहीमा परी प्रहरी कार्यालयमा रहेमा सवारी साधनका धनीहरुलाई पनि कर, नवीकरण तथा दण्ड दस्तुर तिरेर सवारी साधन जिम्मा लिन आग्रह गरिएको छ । सवारी कर भुक्तानी नगरेका सवारी साधन एवं सवारी धनीहरुको लागत तयार गरी सम्बिन्धित स्थानीय तहसँगको सहकार्यमा कर सङ्कलन कार्यलाई कडाइका साथ लागू गर्न गइरहेको पनि विभागले जानकारी गराएको छ ।

कर, नवीकरण तथा जरिवाना रकमहरु सरकारी बक्यौता सरह असुलउपर गरिने भएकाले त्यसबाट कुनै पनि बहानामा उन्मुक्ति नपाइने विभागले जारी गरेको सूचनामा स्पष्ट पारेको छ ।