काठमाडौं– अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ । बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आनुभएको सामन्था पावरले सो बताउनुभएको हो ।

उहाँले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गर्नुभयो ।

उहाँले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रूपमा नबुझ्नसमेत आग्रह गर्नुभयो । उहाँले अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको भन्दै नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताउनुभयो ।

प्रमुख सामन्थले सञ्चारकर्मीहरूले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने प्रश्नमा नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेको प्रतिबद्धताहरूलाई व्यक्त गर्न पाउने अवसरका रूपमा हेरेको बताउनुभयो । उहाँले सो सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिनुभयो ।