काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्हरूका लागि रात्रिभोज आयोजना गर्ने हुनुभएको छ । राष्ट्रपति भण्डारीले आगामी शनिबार अर्थात् यहि माघ २८ गते राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रिभोजको आयोजना गर्ने हुनुभएको हो ।
राष्ट्रपति भण्डारीले सङ्घीय संसद्का सांसद्हरूलाई भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले जानकारी दिनुभयो ।
राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका उच्च अधिकारी कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थित हुने कार्यक्रम छ ।
आगामी २७ गते सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्न लाग्नुभएको हो ।
नेपालको संविधानले दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने जनाएपछि यो भोजलाई बिदाई भोजका रूपमा हेरिएको छ ।
निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।