फाइल तस्वीर
दाङ— लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । विजयी दसौंदीले नेपाली काङ्ग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो

नेकपा एमाले उम्मेदवार दसौदीलाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलहरुको समर्थन रहेको थियो । राष्ट्रियसभा सदस्यका लागि नवनिर्वाचित दसौंदीले कुल ४ हजार २६ मतभार प्राप्त गर्दा नेपाली काङ्ग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका उम्मेदवार रायले जम्मा १९२ मतभार प्राप्त गर्नुभएको थियो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा आज उपनिर्वाचन भएको हो । निर्वाचनमा ३०५ जना मतदाता रहेकामा ३०४ जनाले मतदान गरेका थिए । आजको मतदानमा एक जना जनप्रतिनिधि उपस्थित नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।