फाइल तस्वीर
काठमाडौं — नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा स्वास्थ्यकर्मी र राहत सामग्री पठाउने भएको छ । आज बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताउनु भयो । प्रधानमन्त्रीले बैठकमा ‘हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं’—भन्नुभयो ।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित रहेको थियो ।