प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहनुभएका एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पूग्नुभएको थियो । सोही भेटवार्तामा भोलि बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

दुई शीर्ष नेताबीचको भेटवार्तापछि बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘कसरी सहज ढङ्गले अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’

राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आएको भएता पनि प्रधानमन्त्री प्रचण्ड सहमत हुनुहुन्न । यही मतभेदका कारण सत्ता साझेदार दलहरुबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गर्नुभएको हो ।