प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली, केपी ओलीको सचिवालय ।

काठमाडौं — प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न बिहान भक्तपुरस्थित बालकोट निवास पुग्नु भएको हो ।

सत्तारुढ दल दुई कम्युनिस्ट घटकका शीर्ष नेताहरुबीच आगामी राष्ट्रपति निर्वाचनका साथै देशको समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल भैरहेको छ ।

निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिति तोकिसकेको छ । एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेको छ भने प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउन जोड गर्दै आउनुभएको छ । प्रधानमन्त्री दाहाल एमालेको पोल्टामा राष्ट्रपति दिने पक्षमा नरहेकोले नै उहाँले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नु उपयुक्त हुने बताउँदै आउनुभएको छ ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो । राष्ट्रपतिका लागि यी दुई शीर्ष नेताहरुबीच बारम्बार छलफल हुँदै आएको छ । दुवै शीर्ष नेताहरु अहिलेसम्म आ–आफ्नै अडानमा देखिनुभएको छ ।