काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जनाइएको छ ।