काठमाडौं — नेपाली काङ्ग्रेसले पार्टीका नेता एवं पूर्वसांसद कर्मा घलेको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस मनाङका महासमिति सदस्य घलेको आज दिउँसो उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५९ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको निधनप्रति काङ्ग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखकले आज शोक विज्ञप्तिमार्फत उहाँको असामयिक निधन भएको घटनाले कांग्रेस संसदीय दलका तर्फबाट दुःख व्यक्त गर्नुभएको छ । नेता घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
स्व घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुुनुभएको थियो । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सदैव सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका नेता घले शालिन एवं सरल व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो ।
उहाँ कांग्रेसको विभिन्न तहमा रहेर पार्टी सङ्गठन, विस्तार एवं सुदृढीकरणमा सदैव क्रियाशील रहँदै आउनुभएको पार्टी कार्यालयले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको समयमा उहाँले नेपाल सरकारलाई करिब सवा करोड बराबरको स्यानिटाइजर सहयोग उपलब्ध गराउनुभएको थियो । नेता घलेको निधनले काङ्ग्रेस एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।