फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघिको दरपीठको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको र सो आदेशसँगै रिट दर्ता भएको छ । उक्त रिटमा भोलि बुधबारका लागि पेशी तोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा नेपाली काङ्ग्रेसले पनि मत दिएको थियो ।
यद्यपि, अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउने माग गर्दै सङ्घीय संसद् सचिवालयविरुद्ध रिट दर्ता गर्नुभएको छ । सरकारलाई समर्थन गर्ने दल विपक्षी हुन नसक्ने जिकीर गर्दै अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउने मागसहित सङ्घीय संसद् सचिवालयविरुद्ध रिट दर्ता गर्नुभएको हो ।