फाइल तस्वीर
भरतपुर — चितवनमा कार्यकर्ता भेटघाटमा पुग्नु भएको नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले देशको अबको राष्ट्रपति काङ्ग्रेसको हुने ठोकुवा गर्नुभएको छ । आज मङ्गलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले राष्ट्रपति पदको निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी दिने राष्ट्रपतिमा निर्वाचित हुने जिकिर गर्नु भएको हो ।
नेता कोइरालाले संसद्को ठूलो दल पनि हो । यद्यपि, काङ्ग्रेसको मतले मात्रै राष्ट्रपतिमा नजित्ने हुँदा प्रतिनिधिसभामा रहेका अन्य दलहरुसँग मिलेर जाने र आफ्नो उम्मेदवारलाई विजयी गराउने नेता कोरइरालाको भनाई थियो । नेता कोइरालाले ‘तपाईंहरूको मनमा २५ फागुनमा राष्ट्रपतिको निर्वाचनमा के हुन्छ होला संसय पैदा भएको होला, तर काङ्ग्रेसले उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारलाई हामी जिताउँछौं’ दावीका साथ भन्नुभयो ।
संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस भएको र प्रतिपक्ष दल ‘वेइटिङ गभर्मेन्ट’ भएकोले सत्तारूढ दलले त्यसलाई नजरअन्दाज गर्न नमिल्ने धारणा व्यक्त गर्नुभएको थियो ।
देश यतिबेला अप्ठ्यारो परिस्थितिमा रहेको चर्चा गर्दै काङ्ग्रेस नेता कोइरालाले किसानले उब्जाएको तरकारीले मूल्य नपाउनु र ऋण तिर्न नसकेर आत्मदाह गर्नुले नेपालमा आर्थिक, सामाजिक र राजनीतिक विकृतिको सङ्केत हो भन्नुभयो ।
नेपाली काङ्ग्रेस स्वतन्त्र न्यायपालिका र स्वतन्त्र सञ्चारजगतको पक्षमा रहेको उल्लेख गर्दै नेता कोइरालाले त्यसको संरक्षण र सम्वद्र्धनको लागि क्रियाशिल हुने बताउनुभएको थियो ।