काठमाडौं — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि त्रिविले स्नातक तह चौथो वर्षको व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पूर्व निर्धारित कार्यतालिकालाई संशोधन गर्दै एक महिनापछि अर्थात् आगामी चैत्र १२ गतेदेखि परीक्षा सञ्चालन गर्नेगरी संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ । यस अघि उक्तकार्यालयले आगामी फागुन १० गतेदेखि परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको थियो ।

त्रिविलाई केही विद्यार्थीले परीक्षा सार्न दबाव दिँदै आन्दोलन गरेका थिए । विश्वव्यापी कोभिडको प्रकोपले गर्दा त्रिविको शैक्षिक क्यालेन्डर प्रभावित भएको थियो । उक्त कारण त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएका विद्यार्थीको परीक्षा सञ्चालन हुन सकेको थिएन । सो कारण अहिले त्रिविमा स्नातकका पाँचओटा समूह देखा परेका छन् ।

त्रिविले सञ्चालन गर्न लागेको स्ववियु निर्वाचनका कारण विद्यार्थीले त्रिविलाई परीक्षा तालिका पछि धकेल्न दवाव दिएपछि त्रिविले पुनः परीक्षा तालिका सार्वजनिक गरेको हो ।

त्रिविले पूर्व निर्धारितसमयमा नै परीक्षा सञ्चालन गर्दा चार ओटा ब्याचले मात्र मतदान गर्न पाउने भएपछि चुनावलाई मध्यनजर गरेर तालिका संशोधन गरेको हो । त्रिविले फागुन १० देखि १९ गतेसम्मको छोटो अवधिमा परीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए ।

संशोधित परीक्षा तालिका