काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले भोलि बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् । विप्लव’ले भोलि बुधबार दिउँसो १ बजे काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरबाट समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

पार्टीका एक नेताले बताए अनुसार, ‘अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराउनुका साथै पछिल्लो पार्टी बैठकका निर्णय समेत सार्वजनिक गरिने छ ।’ सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताएको छ । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।

गत शनिवार विप्लवसहित प्रवक्ता विश्वकर्मा कपिलवस्तुको शिवगढीबाट काठमाडौँ आएका थिए । त्यस लगतै माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डसहित प्रवक्ता कृष्णबहादुर महरा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन् । यसैगरी कानुन मन्त्री ध्रुर्वबहादुर प्रधानसहित सत्ता साझेदार दलका नेताहरूलाई समेत भेट्ने कार्यतालिका रहेको बताएको छ ।