काठमाडौं — सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि बारम्बार जबर्जस्ती करणी गरेको कसुरमा मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँले ७ वर्षको कैद सजाय सुनाएको छ । आज सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाउनुभएको हो ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबर्जस्ती करणी र यौन दुव्र्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुव्र्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।
सामाजिक सञ्जालमार्फत बलात्कारपछि फोटो र भिडियो खिचेर पाण्डेले ‘ब्ल्याकमेल’ गर्दै छ महिनासम्म निरन्तर यौनशोषण गरेको आरोप पीडितले लगाएकी थिइन् । उक्त घटनाको सर्वत्र छानबिन गर्न मागको आवाज उठेपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

काठमाडौं जिल्ला अदालतले गत माघ १० गते नै पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । माघ १० गते भएको फैसला अनुसार बाल यौन दुरुपयोगमै त्यतिबेला नै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो ।

मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेको पेसी तोकिएको थियो ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश दीपक ढकालको इजलासले उनलाई मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएको हो ।