काठमाडौं — काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालय स्रोतकाअनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो सङ्क्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू सङ्क्रमण पुष्टि भएको र उक्त फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २ सय ५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ । यसैगरी तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा पन्छी नष्ट गर्ने काम भइरहेको र थप विवरण आउन भने बाँकी रहेको मन्त्रालयले जनाएको छ ।