काङ्ग्रेसका नेता डा. शेखर कोइराला, फाइल तस्वीर
चितवन— नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको छ । कार्यकर्ता भेट्न चितवन पुग्नु भएका नेता कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै नेपाली काङ्ग्रेस सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभएको हो ।
आगामी फागुन २५ गते हुने राष्ट्रपति पदको लागि नेपाली काङ्ग्रेसले उम्मेदार उठाउने पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने बताउँदै ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ’ — नेता कोइरालाले भन्नुभयो ।
काङ्ग्रेस नेता कोइरालाले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने भन्दै राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको हुँदा संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
फरक प्रसङ्गमा बोल्दै नेता कोइरालाले प्रेस स्वतन्त्रता विना लोकतन्त्र पूर्ण नहुने र लोकतन्त्र विना विकास सम्भव नहुने भन्दै उहाँले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताउनुभयो । ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ’ उहाँले भन्नुभयो, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन’— काङ्ग्रेस नेता कोइरालाले भन्नुभयो ।