काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाका लागि विजनेशबारे संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज बिहान बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसद्हरुसँग संसदका गतिविधिहरुलाई चलायमान बनाउनेबारे छलफल गर्नुभएको हो ।
छलफलका क्रममा संसद्मा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरु संसद्बाट पास गर्ने भन्ने विषयमा प्रमुख सचेतकहरुबाट प्रधानमन्त्री प्रचण्डले सुझाव लिनुभएको थियो ।

छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद् प्रदीप यादवले प्रधानमन्त्री दाहालले संसद्लाई दिने बिजनेस र विधेयकहरुबारे छलफल भएको बताउनुभयो ।

सांसद् यादवले अहिले संसद प्रभावकारी नबनेको र भाषणको रमिता देखाउने कुरामै सीमित रहेको भन्दै आफूले नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिव २० वटा विधेयक संसद्बाट पास गर्ने प्रतिवद्धता जनाउनु भएको सांसद् यादवले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले बिजनेस आएको छ की छैन, कसरी लैजाने? के लैजाने? यो सत्रमा कति वटा विधेयक लैजाने? भन्नेबारे छलफल गर्नुभयो । हामीले संसद्लाई बिजनेस आएको छैन, संसद् अहिले प्रभावकारी बनेको छैन, रमिता मात्रै भएको छ, भाषण मात्रै भएको छ । त्यसैले सदनलाई बिजनेस दिनुपर्छ भन्ने माग राख्यौं’ सांसद् यादवले भन्नुभयो ‘नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐन, जस्ता विधेयक ल्याउनुपर्छ । पास गर्नुपर्छ भनेका छौं । यस विषयमा प्रधानमन्त्री गम्भीर बन्नुभएको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आजको प्रमुख सचेतकहरुसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने लगायत अत्यावश्यक विधेयकबारे छलफल भएको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद्ले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाउनु भएको भन्दै
प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरुले संसद्लाई कसरी सुचारु गर्ने भन्नेबारे छलफल गरेको उल्लेख गर्नुभयो।

बैठकमा समितिहरु बन्न नसक्दा संसदलाई कार्य, व्यवसाय दिने कुरामा अलमल परेकाले कसरी अघि बढ्दा उचित हुन्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।
बैठकमा छलफलका क्रममा नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसद्ले बिजनेस नपाएको र संसदमा अड्किएका विधेयकहरुलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि प्रधानमन्त्रीले सुझाव माग्नु भएको बताउनुभयो ।

संसदमा पेस गर्नुपर्ने विधेयकहरुका सन्दर्भमा प्रधानमन्त्रीले संसद्मा रहेका दलका प्रमुख सचेतकहरुसँग भएको छलफलका क्रममा संसद्मा विधेयकहरु अघि बढिरहेको छैन । सरकारले सहज रुपमा संसद्मा विधेयकहरु पेस गर्न र देखिएका समस्याहरुलाई कसरी समाधान गरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको एसका प्रमुख सचेतक ज्वालाले बताउनुभयो ।

अहिले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरु नबन्दा सरकारले संसद्मा विधेयकहरु पेस गर्दा अफ्ठ्यारो हुने गरेको छलफलका क्रममा उठेको थियो ।