फाइल तस्वीर
काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरिएको छ । देसाईले प्रमुख प्रशिक्षकको नियुक्ति पाउनुअघि नै केही दिनदेखि नेपाली क्रिकेट टिमलाई प्रशिक्षण दिँदै आएका थिए । नेपाल क्रिकेट सङ्घले उनलाई औपचारिकरुपमा प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रमुख प्रशिक्षक देसाईले आगामी महिना नेपालले खेल्ने त्रिकोणात्मक शृङ्खलाबाट प्रशिक्षण सुरु गर्नेछन् । यसअघि वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गरेका देसाइसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।
सन् २०१७ को एसीसी यु–१९ एसिया कपमा नेपालले भारतलाई हराएर ऐतिहासिक जित निकाल्दा नेपालका ब्याटिङ प्रशिक्षकका रुपमा देसाई रहेका थिए । मुख्य प्रशिक्षकमा नियुक्त देसाइले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग दुई वर्षको सम्झौता गरेको बताइएको छ । राष्ट्रिय खेलकुद परिषदमा धेरै दिनदेखि नियुक्ति प्रक्रिया अड्किएपछि सोमबार परिषद्बाट सहमति आएको हो ।
नेपालले स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक शृङ्खलाका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अन्तिम टोली प्रशिक्षण सकिएपछि चयन गरिनेछ ।