फाइल तस्वीर
काठमाडौं — राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा अन्य कुनैपनि दलको उम्मेदवारी नपरेपछि सांसद् अर्याल उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो । माओवादी केन्द्र स्थायी समिति सदस्यसमेत रहनुभएकी अर्याल उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना घोषणा गर्नुभएको थियो ।

नेपाली काङ्ग्रेसको संसदीय कार्यसमितिको बैठकले सत्ता गठबन्धनबाहिर रहेका दलहरुसँग मिलेर उम्मेदवारी दिने घोषणा गरेता पनि आफ्नो निर्णयलाई एकाएक परिवर्तन गर्दै माओवादी केन्द्र स्थायी समिति सदस्य अर्यालका विरुद्ध उम्मेदवारी नदिएपछि उहाँ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।


उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अर्यालको प्रस्थापक र एमालेका उपाध्यक्षलाई नेकपा एमालेका देवेन्द्र दाहाल र अर्का सांसद खिमलाल देवकोटाले समर्थन गर्नुभएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेप्रसाद तिमल्सिनाले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि सांसद् अर्याल सर्वसम्मतरुपमा विजयी घोषित हुनुभयो ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् ।